ऐसेलुखर्कको प्रशासनिक भवन निर्माण अलपत्र
खोटाङ, १६ पुस : ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का सम्झौता रद्द गरिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले नक्कली रिपोर्ट बनाएर बुझाएपछि गाउँपालिकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको हो ।
ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौताअनुसारको गुणस्तर कायम नगरेको’ औँल्याए पनि ठेकेदार कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड बैभव जेभीका प्रतिनिधिले नक्कली ल्याब रिपोर्ट तयार पारेर पेश गरेको खुलेको थियो । उक्त केन्द्र वा सोभन्दा माथिल्लो आधिकारिक सरकारी निकायबाट विज्ञ ल्याएर स्थलगत ल्याब परीक्षण गर्न मौका दिइएकामा ठेकेदार कम्पनीले त्यसो गर्न नसकेपछि ठेक्का सम्झौता नै रद्द गरिएको हो ।
गाउँ कार्यपालिकाको आदेशमा भवनको ठेक्का रद्द गर्ने निर्णय भएसँगै धरौटीबापतको रु ३१ लाख जफत गर्ने र हालसम्म भुक्तानी लिएको करिब रु ६२ लाख रकम बराबरको बिगो दाबी भर्ने प्रक्रिया थालिएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले बताउनुभयो । “गाउँपालिकाले रु तीन करोड ६९ लाख ८५ हजार ८७३ को लागत अनमान गरेपनि उक्त निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित रु दुई करोड ६८ लाख ४३ हजार ३४६ मा भवन निर्माण गर्ने ठेक्का संझौता गरेको थियो”, उहाँले भन्नुभयो, “तोकिएको मापदण्डअनुसार काम नभएपछि उक्त कम्पनीसँग ठेक्का सम्झौता नै रद्द गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।”
निर्माणाधीन प्रशासनिक भवनको भुइँतलाको पिल्लर गुणस्तर परीक्षणका लागि स्याम्पल (कङ्क्रिट क्युव) सङ्कलन गरेर गत जेठ २१ गते ल्याब परीक्षणका लागि उक्त केन्द्रमा पठाइएको थियो । सो रिपोर्टमा गणस्तर नभएको पाइएकाले निर्माण व्यवसायीले गुणस्तर भएको अर्को नक्कली ल्याब रिपोर्ट तयार पारेर गाउँपालिकामा बुझाएको थियो । नक्कली ल्याब रिपोर्ट ‘भेरीफाई’ नभएसम्मका लागि गाउँपालिकाले गत भदौ १५ गते निर्माण कम्पनीलाई काम रोक्न पत्राचार गरेको थियो । गाउँपालिकाले पत्राचार गर्नुअघि नै निर्माण व्यवसायीले निर्माणाधीन प्रशासनिक भवनको पहिलो तलाको स्ल्याब ढलान गरिसकेका थिए ।
ठेकेदार कम्पनीले निर्माणाधीन भवनको काममा लापर्बाही गरेकाले गाउँपालिकाको तर्फबाट औपचारिकरुपमा पत्राचार गरेर निर्माणको काम तथा भुक्तानीलगायत सम्पूर्ण प्रक्रिया रोकाएकोे गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । “गाउँपालिकाले पत्राचार गरेपछि निर्माणाधीन प्रशासनिक भवनको सम्पूर्ण काम ठप्प छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीसँग गरिएको सम्झौता रद्द गरिएपछि पुनः नयाँ प्रक्रियाबाट ठेक्का आह्वान गरेर बाँकी काम पूरा गर्ने तयारी भइरहेको छ ।”
निर्माण व्यवसायीले उपलब्ध गराएको प्रतिवेदनमा ल्याब इञ्चार्जको हस्ताक्षर फोटोकपी गरेर टाँसिएको छ । त्यस्तै, पत्रमा ‘महोदय’, ‘चिठ्ठी’ जस्ता शब्द प्रयोग गरिएकाले गाउँपालिकाले शङ्का लागेर पुष्टि गर्न खोजेकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।
विसं २०७७ माघ १९ गते नै निर्माण सम्पन्न गरिसक्नु पर्ने सभाहलसहित १६ कोठा भएको तीनतले सुविधासम्पन्न प्रशासनिक भवन निर्माणका लागि सम्झौता भएको थियो । समयमा काम नसकिएपछि २०७८ असारसम्म म्याद थपिएको थियो । आरसिसी ढलानसहितको प्रशासनिक भवनको पहिलो तला ढलान गरेर दोस्रो तलाका लागि तयारी गरिएको थियो । प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापर्बाही देखिएसँगै ठेक्का सम्झौता रद्द गरिएपछि निर्माणाधीन भवन अलपत्र बनेको छ ।(रासस)

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



