
मादल बनाउनेको पेशा संकटमा
१२ कात्तिक, गुल्मी। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै गाउँघरमा मादल बनाउनेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । तिहारमा देउसी-भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउने गर्दथे।
तर यस वर्ष कोरोना महामारीका कारण मादल बनाउनेहरु फुर्सदिला भएका छन्। गुल्मी जिल्ला सदरमुकाम तम्घासमा मादल व्यवसाय गर्दै आएका डिलबहादुरको मादल पसल सुनसान छ । उनको पसलमा मादल कोरोना महामारी आउनुभन्दा पहिलेका वर्षमा यतिबेला मादल बनाउन र किन्नेहरुको भीडभाड हुने गर्दथ्यो ।
तीज र तिहारमा धेरै मादल खपत हुने भए पनि यस वर्ष भने बनाउन र किन्नेहरु कोही नआएको आएको डिलबहादुर नेपाली बताउँछन् । उनी भन्छन्, ‘ खासमा हरेक वर्ष तीज र तिहारमा धेरै मादल खपत हुन्थ्यो । तर यस वर्ष कोरोना महामारीले गर्दा न त तीजमा नै पुरानो मादल कोही बनाउन आए न त कोही नयाँ मादल किन्न भनेर आए।’
यस वर्ष कोरोना महामारीले गर्दा केही पुराना मादलहरु मर्मत गर्न आएकाले आफ्नो व्यवसाय संकटमा परेको डिलबहादुर नेपालीले बताउँछन्। उनी भन्छन्, ‘कोरोनाअघिका वर्षहरुमा तिहार पर्वमा नेपाली ९० वटासम्म मादल बेचिन्थ्यो।’

गुल्मीको तम्घासमै वर्षौंदेखि मादल बनाउने पसल राखेर मादल बेचेरै वार्षिक मनग्य कमाइ गर्दै आएपनि कोरोनाले गर्दा परिवारको खर्च चलाउन पनि गाह्रो हुँदै गएको उनको भनाइ छ । ‘मादल बेचेकै पैसाले परिवारको खर्च र बचत पनि हुन्थ्यो। परिवार राम्रो चलेको थियो। तर अहिले त परिवारकै खर्च जुटाउन गाह्रो पर्न थालिसकेको छ।’
उनका अनुसार एउटा मादल तयार गर्न २/३ दिन लाग्ने गर्दछ। एउटा मादलको समान्यतया २५ सयदेखि पाँच हजार रुपैयाँसम्म साइज हेरिकन पर्ने गर्दछ । दमाहा, ट्याम्को, ढोलक लगायतका नौमती बाजासमेत बनाउने गरेको उनको अनुभव छ ।

काठ, बाख्रा, भैंसी र गोरुको छाला, अंगार,खरी लगायतका सामग्री मिसाएर मादल तयार पार्ने गरिन्छ । मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको उनको भनाइ छ ।

खिर्रो, मौवा, मलेतो, घ्वारी लगायतका काठको ढुंग्रो बनाउन सकिने भएपनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने मादल बनाउएको उनको अनुभव छ । तम्घासमा तयार भएको मादल गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानमा समेत पुग्ने गर्दछ ।
पछिल्लो समय यता चार्डपर्वमा साउडसिष्टम बजाएर रमाइलो गर्ने गर्नाले पनि मादल कम मात्रमा किनबेच हुने गरेको हो । मादलसँगै जोडिएको देउसी भैलोमा साउन्डसिष्टम बजाउनाले संस्कृतिमाथि नै प्रश्न उठन थालेको छ ।
मादलबाट कमाइ राम्रै हुने भएपनि छाला काढ्न र सुकाउन झन्झट हुने भएकाले पछिल्लो पुस्ताले यस पेशाप्रति ध्यान दिने गरेका छैनन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




