
नेपालि काँग्रेस चितवनद्दारा प्रजातन्त्रका सेनानीकाे नाममा सभाहलकाे नामकरण
चितवन, असार ३- नेपाली कांग्रेस चितवनले प्रजातन्त्रका सेनानी एवम् नेपाली कांग्रेस चितवनका सल्लाहकार महेश्वरलाल श्रेष्ठको नाममा पार्टी कार्यालयमा रहेको सभाहलको नामाकरण गरेको छ ।
श्रेष्ठको निधन भएको १३ औं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा कांग्रेस पार्टी कार्यालयमा रहेको सभाहललाई उनको सम्झनामा महेश्वरलाल स्मृति सभाहल घोषणा गरिएको हो ।
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस चितवनका पूर्वसभापतिहरु कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ, जिल्ला सदस्य केशब महर्जनलगायतले श्रेष्ठको योगदानको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभापति श्रेष्ठले सभाहलको नामाकरण गरेका थिए ।
विसं १९९४ साल पौष २९ गते बुबा सुब्बा मित्रलाल श्रेष्ठ र माता चुँदरी देवीका साइला पुत्रको रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मिएका उनले पाल्पाको पब्लिक पदम हाइस्कुलमा अध्ययन गरेका थिए । विसं. २०१२ सालमा चितवन आएका उनले २०१४ सालाको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गरेका थिए । विसं. २०१५ सालबाट चितवनमा स्थायी बसोबास गरेका उनी सोही वर्ष भएको आम निर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विसं. २०१७ सालाको राजनीतिक कु सँगै तनहँुको बन्दीपुर सशस्त्र आन्दोलनको नेतृत्व, २०१८ सालमा भरतपुर कब्जा गर्ने सशस्त्र क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका स्वर्गीय श्रेष्ठ माडी, ठोरी क्षेत्रमा समेत सशस्त्र विद्रोहमा नेतृत्व प्रदान गरेका कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार विसं. २०१८ सालपछि ८ वर्ष निर्वासन, पटक–पटक राजबन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा परेका उनी २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्य द्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउ गरेको थियो । प्रजातान्त्रिक आन्दोलनका अथक संघर्षशील योद्धा देशमा प्रजातन्त्र स्थापनार्थ आफूलाई समाहित गरेका महेश्वरलाल अविवाहित थिए । जेठ २२ गते काठमाडौंमा उपचारका क्रममा उनको निधन भएको हो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



