
उल्टो हिँडेर संसद विघटनको विरोध
२४ पुस, काठमाडौं । नेविसंघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध जनाएको छ । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म आइपुगेका छन् ।
उनीहरुले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी छन् ।
नेविसंघकी नेतृ एलिजा ढकालले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिकरुपमा विरोध गरिएको बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘संविधान मिचेर तपाईं उल्टो बाटोमा हिँड्दै हुनुहुन्छ सच्चिनुस् भनेर दबाब दिनलाई उल्टो हिँडेर विरोध गरिएको हो ।’
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी छन् । ओलीको यो कदमले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै विभाजन भएको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित अन्य दल र नागरिक समाजले विरोध जनाइरहेका छन् ।
हाल संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।



[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



