भारतीय सेना प्रमुख आज नेपाल आउँदै

१९ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।

फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ ।

नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेकाले उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

नेपालका सैन्य मामिलाका जानकारहरुले पनि नाकाबन्दीमा जस्तै यो पटकको सीमा विवादमा पनि सैन्य कुटनीतिले संवादहीनता अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्लेषण गरेका छन् ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भारतीय सेनाध्यक्ष नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउने दाबी गरेका छन् ।

Sagoon Host

भारतले पनि आफ्नो सेना प्रमुखले बुधबारदेखि गर्ने नेपाल भ्रमणले लामो समयदेखि दुई सेनाको बीचमा रहेको परम्परागत सम्बन्धलाई सुदृढ बनाउने बताएको छ ।

भारतीय सेना प्रमुख एमएम नरवणेको भ्रमणका सम्बन्धमा विभिन्न संचारमाध्यमले राखेको जिज्ञासामा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले सो भ्रमणले दुवै देशलाई रक्षा सहकार्य सम्बन्धी दुईपक्षीय सम्बन्धको बारेमा छलफल गर्ने अवसर प्रदान गर्ने र यसलाई अझ सुदृढ गर्नका लागि बाटो खोल्ने धारणा व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु