
महाकाली नदीमा बाढीले तिव्र रूप लिँदै, ऐरी घाट बस्ती डुवान
कञ्चनपुर – लगातारको वर्षासँगै महाकाली नदीमा बाढी आएपछि कञ्चनपुरका केही तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन्।
डडेल्धुरा, बैतडी र दार्चुला लगायतका पहाडी जिल्लामा अविरल भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको वहाव बढेसँगै कञ्चनपुरमा डुवान र कटान सुरु भएको हो ।
महाकाली नदीमा आज दिउँसो २ बजे गरिएको मापन अनुसार १ लाख ९१ हजार क्युसेक पानीको वहाव पुगेको छ ।
महाकालीमा आएको बाढीका कारण नदी बस्ती तिर आएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती डुबानमा परेका हुन्। बाढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो।महाकाली नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर महाकालीको पानी गाउँ पसेको हो ।
ऐरी बस्तीको १५ घर डुबानमा परेको र उद्दारको काम भइरहेको भीमदत्त नगरपालिका वडा नम्बर–१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले जानकारी दिए । महाकाली नदीमा पानीको बहाव बढेपछि महाकालीमा निर्माणधीन ४ लेन पुलको ड्याम समेत भत्काएको अध्यक्ष देउपाले जानकारी दिए।
उनका अनुसार ड्याम भत्काएपछि आवातजावात समेत बन्द भएको छ। अहिले पनि नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन्।
महाकाली नदीमा आएको बाढीले महाकालीमा निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान सुरु गरेको छ । अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ । कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम सुरु गरिएको छ ।

तारजालिमा ढुङ्गा भरेर कटान रोक्ने प्रयास भइरहेको पिके निर्माण कम्पनीका इन्जिीयर किशोर पाण्डेले जानकारी दिए ।
महाकालीमा पानीको वहाव बढेपछि नदी किनारका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ । नदीमा जति बेला पनि पानीको मात्रा बढेर धनजनको क्षति हुने भन्दै नदीमा दाउरा सङ्कलनका लागि नजान र सचेत भएर बस्न अलर्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले जानकारी दिए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्दार टोली तयारी अवस्थामा राखिएको बताए। शनिबार बिहानसम्म महाकाली नदीमा पानीको स्तर १ लाख ६६ हजार क्वीसेक मापन गरिएको थियो।
सामान्यतया महाकाली नदीमा ४० हजार क्वीसेक हुनुपर्नेमा धेरै बढेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार नै नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन अपील जारी गरेको थियो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




