
पुनर्वास नगरपालिका र सुकुम्बासी संघर्ष समिति बीच संयुक्त बैठक सम्पन्न, ताला खोल्ने सहमति
-सुनिलकुमार लो
कञ्चनपुर, २८ पुस
पुनर्वास नगरपालिका र सुकुम्बासी संघर्ष समिति पुनर्वास बीच संयुक्त बैठक बसेको छ । आज सम्पन्न बैठकमा नगरपालिकामा लगाईएको ताला खोल्ने सहमति लगायत थुप्रै सहमति भएको छ ।
सुकुम्बासी समस्या समाधान संघर्ष समिति पुनर्वासले जग्गाधनी पुर्जा पाउनुपर्ने माग राखी विगत केही समयदेखि आन्दोलन गरीरहेको थियोे । यसै आन्दोलनको सिलसिलामा नगरपालिकाले कुनै सुनुवाइ नगरेको भन्दै गत पौष २६ गते नगरपालिकामा आन्दोलनरत पक्षले ताला लगाएको थियोे । पुनर्वास नगरपालिका र संघर्ष समिति बीच ईलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीको
भवनमा बैठक बसि नौ बुँदे सहमति भएको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले जानकारी गराउनुभयो ।
नगरपालिकाले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न माघ मसान्त भित्र पहल गर्ने, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न राष्ट्रिय आवास कम्पनीको नम्स अनुसार नगरी सुकुम्बासी समस्या समाधान आयोगको नम्स अनुसार गर्न पहल गर्ने, भूमि आयोग र नगरपालिका बिच सम्झौताको लागि पहल गर्न नगरपालिका र संघर्ष समिति आउँदो माघ मसान्त भित्र मन्त्रालयमा संयुक्त रुपमा डेलिगेसन जाने लगायतका सहमति भएको थियोे ।
नगरप्रमुख जीवनराज थापाको अध्यक्षता बसेको बैठकमा नगरपालिकाको तर्फबाट नगर उपप्रमुख शारदा बिष्ट, वडाध्यक्षहरु मान बहादुर गुरुङ,प्रताप चन्द,तुलसी अर्याल, नारायण प्रसाद जैसी,कर्मचारी ओमनाथ ढकाल र नगरपालिकाका प्रवक्ता भारमाल सुनारको उपस्थिति थियोे भने सुकुम्बासी संघर्ष समितिका तर्फबाट संयोजक जगत बहादुर सायर,चन्द्र बहादुर थापा,राजु थापा,लेक बहादुर तामाङ,बल बहादुर बिष्ट लगायतको उपस्थिति थियोे । 


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


