पिता : एकमा अनेक

‘जतिबेला मसँग बुबा हुनुहुन्थ्यो, त्यसबेला मैले उहाँलाई बुझिन

जतिबेला मैले बुबालाई बुझें, त्यसबेला मसँग बुबा हुनुहुन्नथ्यो ।’

लेखक बुद्धिसागरको उपन्यास ‘कर्णाली ब्लुज’मा उल्लेख यो वाक्यांशले हृदयलाई स्पर्श गर्छ । बुबासँगको भावनात्मक सम्बन्ध, धारणा उमेरसँगै फेरिदै जान्छ । सानो छँदा सोचिन्छ रे, ‘मेरो बुबा संसारका सबैभन्दा शक्तिशाली हुन् ।’

जतिबेला बुबाले हामीलाई कहिले पिठ्युँमा त कहिले ढाँडमा बोकेर ‘हट घोडा हट’ खेलाइरहेका हुन्छन्, त्यसबेला हामीलाई बुबा भन्दा असल, मायालु कोही लाग्दैन ।

उमेर बढ्दै जान्छ । किशोरावस्थामा पुग्छौं । बुबाले हामीलाई पढ्न प्रेरित गर्छन् । सही बाटोमा हिँड्न मार्गदर्शन गर्छन् । हामी ठान्छौं, ‘मेरो बुबा जस्तो जान्ने, ज्ञानी यो संसारमा कोही छैनन् ।’

हामी युवाअवस्थामा पुग्छौं । जान्ने–बुझ्ने हुन्छौं । बुबाकै छत्रछायाँमा हुर्केका, बुबाकै सामिप्यतामा शिक्षादिक्षा पाएका हामीलाई लाग्न थाल्छ, ‘मेरो बुबा खासै शिक्षित होइन रहेछन् ।’

हामी जागिर खान थाल्छौं । पैसा कमाउँछौं । साथभाई बनाउँछौं । प्रतिष्ठा आर्जन गर्छौं । बैंकमा पैसा सञ्चय हुन थाल्छ । त्यसबेला बुबालाई बुढ्यौलीले छोपिसकेको हुन्छ । उहाँको रेखदेख गर्नुपर्ने दायित्व बोध गरिरहँदा हामी ठान्छौं, ‘मेरो बुबा कमजोर रहेछन् ।’

जतिबेला बुबा अशक्त हुन्छन् । रोगले थलिन्छन् । आफ्नो कमाईको स्रोत हुँदैन । औषधी पानीका लागि पनि छोराछोरीको आश गर्नुपर्ने बेला हुन्छ । हामीलाई लाग्छ, ‘मेरो बुबा साहै्र निरिह रहेछन् ।’

समयचक्रले हरेकप्रति हेर्ने र बुझ्ने धारणा परिवर्तन गराइदिन्छ । हाम्रो आँखाबाट, हाम्रो बुझाईबाट बुबालाई अनेक रुपमा देख्छौं । बाल्यकालमा सर्वशक्तिमान, ज्ञानी, जान्नेबुझ्ने लागेका उनै बुबा हामीलाई पछि कमजोर, निरिह, अशिक्षित लाग्न थाल्छ ।

जबकी बुबाको दृष्टिकोण र बुझाईमा कहिल्यै यस्तो भिन्नता आउँदैन । उनीहरुले बाल्यकालमा आफ्नो छोराछोरीमाथि जुन बिम्ब बनाएका हुन्छन्, जीवनभर त्यही बिम्ब बनाएर बाँचिरहन्छन् । उनीहरुलाई लाग्छ, ‘मोरा छोराछोरी सानै छन्, धेरै कुरा सिक्न बाँकी नै छन् ।’

यस्तै ममतामयी हृदयले छोराछोरीलाई हेरिरहन्छन्, जीवनभर । छोराछोरी हुर्कन्छन्, पढ्छन्, जागिर खान्छन्, विवाह गर्छन् । आ–आफ्नै कामधन्दामा व्यस्त हुन्छन् । तरपनि बाबाको आँखाले छोराछोरीलाई त्यही रुपमा देख्छ, जतिबेला उनले आफ्नै काँधमा बोकेर खेलाएको हुन्छ । काखमा बोकेर सुताएको हुन्छ । आफ्नो औषधी खाने कुरामा भन्दा पनि ‘छोराछोरीले खाए, खाएनन्’ भन्ने कुराले उनीहरुलाई पिरोल्छ ।

एकमा अनेक

बुबाले हाम्रो निम्ति अनेक किसिमको जीवन बाँच्छन् । सानो छँदा उनी हाम्रा संरक्षकको रुपमा हुन्छन् । साथीको रुपमा हुन्छन् । जतिबेला हामी तोतो बोली बोल्दै, बामे सर्न थालेका हुन्छौं, यतिबेला बुबा हाम्रो सबैभन्दा मायालु छहारी बन्छन् । उनकै काँधमा चढेर, उनकै काखमा टेकेर, उनकै नाक निमोटेर, उनकै गाला टोकेर हामी आनन्द लिन्छौं । रमाउँछौं ।

हामी ठिंग उभिएर हिँड्न सक्ने हुन्छौं । पुस्तक च्यापेर विद्यालय जान थाल्छौं । बुबाले त्यसबेला हाम्रो मार्गदर्शन गर्छन् । उनी कुनै शिक्षकको रुपमा खडा हुन्छन् । हाम्रो शिक्षा–दिक्षाको लागि आफ्नो गाँस कटाउँछन् ।

हामी जति–जति सक्षम र जान्नेबुझ्ने हुन्छौं, बुबा हाम्रो करियर, स्वास्थ्यप्रति ख्याल राख्न थाल्छन् । कसरी काम गर्ने, स्वास्थ्यको ख्याल कसरी राख्ने भन्ने कुरा सिकाइरहेका हुन्छन् ।

बुबालाई हामीले अनेक रुपमा देख्छौं । विडम्बना के छ भने, जतिबेला हामीसँग बुबा हुन्छन्, त्यसबेलासम्म हामीले उहाँको महत्व र उपस्थितीलाई बुझेकै हुँदैनौं । जतिबेला त्यो कुरा अनुभूत गर्न थाल्छौं, त्यसबेला हामीसँग बुबा हुँदैनन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु