पुस्तकालय दिवस : एकैदिन पाँच पुस्तकालय उद्घाटन

हेटौँडा । पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा मंगलबार एकैदिन मकवानपुर जिल्लामा ५ वटा पुस्तकालय उद्घाटन भएको छ । १४ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लाका ५ स्थानमा एकसाथ पुस्तकालय उद्घाटन गरेको हो । यसअघि अभियानले मकवानपुरमा ६ वटा र छिमेकी जिल्ला बारामा एउटा गरी ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ ।

मंगलबार बिहान हेटौँडा १, चौकीटोलमा नवज्योति पुस्तकालय स्थापना भएको छ । २०४७ सालमा स्थापना भएको नवज्योति पुस्तकालय २०५७ सालदेखि बन्द अवस्थामा थियो । पुस्तकालय अभियान समूहको सहयोगमा मंगलबार पुस्तकालय सुचारु गर्ने गरी उद्घाटन गरिएको छ । हेटौँडा उपमहानगरपालिका १ नम्बर वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन कार्यक्रम भएको हो ।

पुस्तकालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष न्यौपानेले पुस्तकालय नियमित सञ्चालनमा व्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवज्योति पुस्तकालयलाई ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गर्न जेसिआई हेटौँडा लेडीले पुस्तकालय अभियान समूहलाई सहयोग गरेको हो ।

पुस्तकालयका संस्थापक सचिव एकालाल श्रेष्ठले स्थापनाकालमा आफूहरुले निक्कै मेहनेत गरे पनि नयाँ पुस्ता तयार गर्न नसक्दा पुस्तकालय बन्द हुन पुगेको स्मरण गरे । मंगलबार बिहानै मकवानपुरगढी गाउँपालिका ५, धादिङमा पनि पुस्तकालय उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पुस्तकालयको उद्घाटन गरेका हुन् । पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद गर्न गढी गाउँपालिकाकै १० जनाले ५० हजार रुपैयाँ पुस्तकालय अभियान समूहलाई सहयोग गरेका हुन् ।

पुस्तकालय अभियान समूहकै सहयोगमा यसअघि मकवानपुरगढी ३, मक्रान्चुलीमा पनि प्रजातान्त्रिक पुस्तकालय स्थापना गरिएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले पालिकाका सबै वडामा पुस्तकालय स्थापना गर्न र स्थापित पुस्तकालयलाई नियमित सञ्चालन तथा व्यवस्थापन गर्न गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । पुस्तकालय उद्घाटन कार्यक्रममा वडाध्यक्ष जीतबहादुर घिमिरे, ६ नम्बर वडाध्यक्ष टीकाप्रसाद दाहालको पनि उपस्थिति रहेको थियो ।

यस्तै, मकवानपुरको बकैया गाउँपालिका ७, हात्तीचरणमा हात्तिचरण सामुदायिक पुस्तकालय, भीमफेदी गाउँपालिका ४, निबुवाटारमा ज्ञानज्योति पुस्तकालय उद्घाटनको भएको छ भने हेटौँडा १८, दोभानचौरमा दोभानचौर सामुदायिक पुस्तकालय उद्घाटन भएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु