एभिसी सेन्ट्रल जोन भलिबल दुई समूहमा हुने, नेपाल सम्मिलित साउथ एसियाको खेल डिसेम्बरमा

२२ साउन, काठमाडौं । एसियाको मध्य राष्ट्रहरु सम्मिलित सेन्ट्रल जोन भलिबल प्रतियोगिता यस पटक दुई समूहमा हुने भएको छ ।

यसअघि एभिसी सेन्ट्रल जोन महिला र पुरुषको एक मात्र प्रतियोगिता हुँदै आएको थियो । यस पटक भने सेन्ट्रल जोनको पनि उत्तरी क्षेत्र र दक्षिण क्षेत्रको फरक प्रतियोगिता हुन लागेको छ ।

सेन्ट्रल एसिया भलिबल च्यालेन्ज कप र साउथ एसिया भलिबल च्यालेन्ज कप आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसनका अध्यक्ष मोहमेद लतिफले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘यस पटक सेन्ट्रल जोन ग्रुप बी मा हामीले दुई समूहमा विभाजन गरेका छौँ । दुवै समूहको महिला र पुरुषको प्रतियोगिता हुनेछ ।’

लतिफका अनुसार सेन्ट्रल एसिया भलिबल च्यालेन्ज कपमा महिला र पुरुषतर्फ त्यस क्षेत्रका फेडेरेसनहरु उज्वेकिस्तान, किर्गिस्तान, तुर्किमिनस्तान, ताजिकिस्तान र कजाखस्थान छन् । महिलातर्फ अफगानिस्तानलाई आमन्त्रण गर्न सकिने लतिफले बताए । यस्तै तुर्किमिनेस्तान भने कोभिड-१९ को ट्राभल ब्यानले गर्दा प्रतियोगिता खेल्न जान नसक्ने उनले जनाएका छन् ।

सेन्ट्रल एसिया कप यही अगष्ट १५ देखि २२ सम्म उज्वेकिस्तानको फेरघाना सिटीमा आयोजना हुनेछ । यस्तै नेपाल सहभागी हुने साउथ एसिया कप भने आगामी डिसेम्बर (मंसिर-पुस)मा आयोजना हुने लतिफले बताए । उनका अनुसार साउथ एसिया भलिबल च्यालेन्ज कपमा माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र अफगानिस्तान रहनेछन् ।

साउथ एसिया अन्तर्गत पुरुषतर्फको खेल बंगलादेशको ढाका सिटीमा हुने र महिलातर्फको माल्दिभ्समा हुने बताए । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) मा विभिन्न पाँच जोनहरु छन् । जसमध्ये सेन्ट्रल जोनमा १४ राष्ट्र छन् । त्यसमध्ये इरान, भारत, पाकिस्तान र श्रीलंका भने सेन्ट्रल जोनको कुनै पनि प्रतियोगितामा खेल्ने छैन ।

यी चारवटै राष्ट्रले आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन पुरुष भलिबल च्याम्पियनसिप खेल्दैछन् । तर महिलातर्फ भने इरानले खेल्दैछ । दक्षिण एसिया क्षेत्रबाट भने कुनै टिमले पनि खेल्ने छैन ।

Sagoon Host

नेपाल भलिबल संघका कार्यवाहक अध्यक्ष याम बहादुर गुरुङले सेन्ट्रल जोनका लागि आधिकारिक रुपमा जानकारी भने आइनसकेको बताए । यस्तै एसियन च्याम्पियनसिपको लागि भनेर मुख्य प्रशिक्षक बनेका जगदिश भट्टले उज्वेकिस्तानमा हुने प्रतियोगितामा रसियन ब्लकको राष्ट्रहरुले मात्र खेल्ने बताए ।

साउथ एसियन राष्ट्रहरुको प्रतियोगिताबारे अब हुने छलफलमा अन्तिम निर्णय गरिने बताए । साउथ एसियन कप डिसेम्बरमा हुने भनिए पनि मिति भने तय हुन बाँकी छ ।

फिलिपिन्समा यही अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुने महिलातर्फको प्रतियोगिता नेपालले पनि खेल्ने तय भएको थियो । तर कोभिड-१९ को रेस्ट्रिक्सनले गर्दा फिलिपिन्सले नेपाल र भारतलाई सहभागी गराउन नसक्ने एभिसीले जानकारी गराइसकेको छ ।

20% OFF SAGOON

पहिलो पटक नेपालले महिला एसियन च्याम्पियनसिप खेल्ने भनेर नेपालले तयारी सुरु गरे पनि अन्तिममा कोभिड नै बाधक बनेको थियो ।

नेपालले च्याम्पियनसिपका लागि भन्दै एक महिना बन्द प्रशिक्षण गरेको थियो । तर अन्तिम समयमा ‘ड्र’ सार्वजनिक गर्दा नेपाल समावेश भएन र ८ टिमले मात्र प्रतियोगिता खेल्ने एभिसीले जनायो । नेपालले खेल्न नपाउने भएपछि नेपाल भलिबल संघले प्रशिक्षणमा रहेका खेलाडीहरुलाई रिलिज गरेको थियो ।

एभिसीले नेपालको महिला टिमलाई अर्को संस्करणको एभिसी च्याम्पियनसिपमा खेलाउने सहमति गरेको जनाएको छ ।

एभिसीले सन् २०१९ मा पहिलो पटक महिलाको एभिसी सेन्ट्रल जोन च्याम्पियनसिप आयोजना गरेको थियो । जसमा नेपालले अपराजित रहँदै ऐतिहासिक उपाधि जितेको थियो ।

पुरुषतर्फ अहिलेसम्म ५ संस्करण आयोजना भएकोमा नेपालले एक पटक मात्र तेस्रो हुँदै कास्य जितेको थियो । पाँचौ संस्करणको पुरुष सेन्ट्रल जोन नेपालमै आयोजना भएको थियो । जसमा नेपाल पाँचौ भएको थियो । गत वर्ष बंगलादेशमा छैटौं संस्करण गर्ने तय भएपनि कोभिड-१९ कै कारण स्थगित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु