
धादिङ अस्पताललाइ नारायणगढ राेटरीद्धारा ६४ लाख रुपैयाँकाे स्वास्थ्य सामग्री सहयाेग
चितवन, असार १४-
रोटरी क्लब अफ नारायणगढले धादिङ जिल्ला अस्पताललाई करिब ६४ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ ।
रोटरी अन्तर्राष्ट्रियको ग्लोबल ग्रान्ट परियोजना नं २११७३०० मार्फत् सो सहयोग भएको हो ।
अस्पतालका मेसु डाक्टर त्रिभुवन चन्द झा र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलालाई संयुक्त रूपमा रोटरीले सहयोग सामग्री हस्तान्तरण गरेको छ । उक्त परियोजना सफल बनाउन रोटरी क्लब अफ धादिङ र रोटरी क्लब अफ होनोलुलु सनसेट, अमेरिकाको विशेष सहयोग रहेको क्लबका अध्यक्ष अनुकुल श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा रोटरी क्लब अफ धादिङका अध्यक्ष कृष्णलाल उप्रेतीलगायत पूर्वअध्यक्ष एवम् पदाधिकारीहरूको उपस्थिति रहेको थियो । नारायणगढ रोटरी क्लबको तर्फबाट संस्थापक अध्यक्ष निरञ्जन प्रधान, वर्ष २०२१\२२ कालागि निर्वाचित अध्यक्ष अरुणकुमार खनाल, पूर्वअध्यक्षहरू चुननारायण श्रेष्ठ र राजेन्द्र ओलीको सहभागिता रहेको थियो ।
धादिङको जिल्लाअस्पतालको लागि सहयोग उपलब्ध गराइएका स्वास्थ्य उपकरणहरूमा आइसीयूका लागि बेड, भेन्टिलेटर, डिफ्राइबीलेटर, चेष्टभाइब्रेटर, डिभिटीपम्प, इन्फ््युजनपम्प, इसीजी मेशिन, प्यासेन्टमोनिटर, मेडिसिनट्रलीलगायत रहेका छन् । साथै बिरामी कुरुवा र अस्पतालका कर्मचारीलाई शुद्धखानेपानीको लागि फिल्टर, सुत्केरी वार्डका लागि स्वचालित हातधुने मेशिनसमेत उपलब्ध गराइएको सो परियोजनाका निर्देशक इन्जिनियर गुणेश्वर महतोले बताए ।


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



