
कठोर संघर्षदेखि सफलताको ‘शिखर’ चुमेका व्यवसायी पुर्ण लिम्बूको प्रेरणादायी जीवन
दुःख, वियोग र कठोर संघर्षबाट अविचलित भई निरन्तर कर्म गर्दै अघि बढेका सफल ‘रियल स्टेट’ व्यवसायी तथा निक भुजिकिक हाउजिङका संचालक अध्यक्ष पुर्णबहादुर लिम्बूको जीवन वास्तवमै उदाहरणीयसंगै प्रेरणादायी पनि छ । जीवनलाई सार्थक र सफल बनाउन चाहने जो कोहीले उहाँको जीवन भोगाईबाट निकै ठूलो शिक्षा, हौसला र प्रेरणा प्राप्त गर्नसक्छन् । औपचारिक रुपमा केवल ५ कक्षासम्म मात्र अध्ययन गर्नुभएका उहाँ आज अरबौंको कारोबार कुशलतापुर्वक सम्हाली रहनुभएको छ । अनि यति लोभलाग्दो, दुर्लभ र गगनचुम्बी सफलता हासिल गरेता पनि उहाँले आफ्नो धरातल पटक्कै बिर्सनुभएको छैन ।

२०३० सालमा धनकुटा जिल्लाको कुरुले तेनुपामा कान्छो सन्तानका रुपमा जन्मिएका पुर्णबहादुर लिम्बूको २ दाजुभाई, १ दिदी र आमाबुबासहित ५ जनाको सुखी परिवार थियो । भारतीय सैनिक बुबाले सन्तानको खुशीका लागि कुनै कसर छोडेका थिएनन् । यसैवीच दैवको आँखा लाग्यो भन्ने कि भाग्यको खेल ! त्यो परिवारमा अकल्पनीय बज्रपात आइलाग्यो । मात्र ४७ दिनको फरकमा वि.सं. २०४३ सालको जेठ २८ गते जन्म दिने ममतामयी आमा केवल ४६ बर्षकै उमेरमा बित्नुभयो भने सोही बर्षको साउन १५ गतेले असाध्यै माया गर्ने बुबासंग पनि सधैका लागि बिछोड गराईदियो । १३ बर्षको उमेरमा बाबा, आमा दुवैको साथ छुटेपछि उहाँको सुन्दर र सुखी संसार एकाएक भताभुङ्गझै भयो । त्यो बेला उहाँ कक्षा ५ मा पढ्दै हुनुहुन्थ्यो । पढाई राम्रै थियो । सरकारी विद्यालयमा कक्षा ४ बाट ए,बी,सि,डी सिकाइने जमाना थियो त्यो । दाजुदिदी माथिल्ला कक्षामा पढ्ने भएकाले पुर्णले भने २ कक्षामा हुदै अंग्रेजीमा आफ्नो नाम लेख्न सिकीसकेका थिए ।
जन्मदिने आमा र बुबा गुमाउनुको पीडा जतिसुकै दर्दानक भए पनि त्यसलाई स्वीकार्नुको विकल्प थिएन । त्यो कठोर पारिवारिक वियोगपछि ५ कक्षामै उहाँको पढाई टुट्यो । किनकी घरव्यवहार सम्हाल्ने जिम्मा परिवारको कान्छा छोरा पुर्णको कलिलो काँधमा आईलाग्यो । घरव्यवहार सम्हाल्न थालेको १ बर्षपछि गाउँले साथीभाईहरुसंग पुर्ण भुटान पुगे र त्यहाँ ६ महिना अदुवा रोप्ने, अलैची गोड्ने आदि काम गरी कुरुले तेनुपा फर्किएर फेरि घरव्यवहार नै सम्हाल्न थाले ।
आफ्नै गतिमा चलिरहने समयको चक्रसंगै यो क्रम २०४७ सालसम्म जारी रह्यो जतिबेला उहाँ १७ बर्षको लक्का जवान भइसक्नुभएको थियो । उहाँलाई लाग्यो, अब यसरी सधै गाउँमै बसी राखेर हुन्न । अनि एक दिन उहाँ, गाउँले काकासंग देशको राजधानी काठमाडौं एक पटक घुमेर आउने सपना बोकेर धनकुटाको कुरुले तेनुपाबाट धरान झर्नुभयो । त्यो बेला खल्तीमा ३ सय रुपैयाँ बोकेर घरबाट निस्किएको सम्झना पुर्णलाई अहिले पनि ताजै छ । धरानबाट काठमाडौको बस भाडा डेढ सय रुपैयाँ थियो । उहाँहरुले काठमाडौ जाने रात्री बसको टिकट लिनुभयो । ४ बजे मात्र गाडी हिड्ने भएकाले दुवैले धरान बजार घुम्ने विचार गरे । अहिलेको जस्तो हातहातमा मोबाइल फोन बोक्ने समय थिएन । धरान बजार घुमेर गाडी चढ्न काउन्टर पुग्दा टिकट काटेको बस त बाटो लागिसकेको रहेछ । कस्तो आपत्त ! काउन्टरको मानिसहरुले राती खाना खाने ठाउँमा छुटेको बस भेटिन्छ भनेर सान्त्वना दिदै अर्को बसमा चढाइदिए । तर बाटोमा कतै त्यो बस भेटिएन । तसर्थ, अर्को सय/सय रुपैयाँ भाडा चढेर आएको बसलाई बुझाउनुपर्यो ।

भोली पल्ट साढे नौ बजे तिर उनीहरु काठमाडौंको पुरानो बसपार्कमा उत्रिए । त्यो दिनको सम्झना आँखामा अझै झलझली आइरहन्छ उहाँलाई । पुर्णको एक जना काका थिए मैतबहादुर भन्ने मनकुमार लिम्बू । उहाँ चाहि बागबजारमा शिक्षकहरुका लागि खाना पकाउने काम गर्दै शिक्षककै कोठामा बसेर पढ्नुहुन्थ्यो । त्यो दिन सम्झदै पुर्ण भन्नुहुन्छ, “बागबजारमा काकाकोमा खाना खाएर हामी बनेपा, चारदोबाटो गयौँ । त्यहाँ एउटा ठूलो गलैचा कारखाना रहेछ । मैले जीवनमा पहिलो चोेटी देखेको गलैचा कारखाना त्यही हो ।” त्यहाँ गाउँकै एक जना काका गलैचा बुनिरहेका थिए । काठमाडौ उपत्याकामा गलैचा कारखाना “गुलजार” रहेको समय थियो त्यो । गाउँ, गाउँबाट मानिसहरु गलैचा बुन्न काठमाडौ आउने ‘लहर’ नै थियो । गलैचा कारखानाभित्र मेला, बजारकै झल्को दिने खालको रमाइलो वातावरण देखे पुर्णले । १३, १४ बर्षदेखिका ‘टिन एजर’ युवायुवतीदेखि श्रीमान्, श्रीमतिहरुसम्म गलैचा बुनिरहेका हुन्थे । कोही हाँसीमजाक, कोही कुराकानी र कोही आफ्नै सुरमा गीत गुनगुनाउँदै गलैचाको धागोमा हात चलाईरहेका देखिन्थे । तिनै काकाले गलैचा बुन्ने हो त भनेर पुर्णलाई सोधेपछि एकपटक कोशिस गरौन त भन्ने निर्णयमा पुगे उनी । अनि सुरु भयो उनको गलैचा बुन्ने तालीम । त्यो बेला ३ महिनासम्म गलैचा बुन्न सिक्नुपथ्र्यो र सो अवधिभर खाना पाइथ्यो तर तलब चाहि नपाइने । पुर्णले त एक महिनामै गलैचा बुन्न मज्जाले सिकी हाले ।
नेपाल आर्मीमा जागिरे सुकबहादुर सम्बाहाम्फे भन्ने उनका काका सुर्य विनायक, भक्तपुरस्थित सैनिक व्यारेकमा कार्यरत थिए । उनै काकालाई भेट्न जाँदा सुर्यविनायक चोकबाट अलि माथि एउटा सानो गलैचा कारखाना देखें । काकासंग भेटघाट गर्न पनि सहज र काम जानेकाले तलव पनि पाइहाल्ने भएपछि पुर्णले त्यही गलैचा कारखानामा काम गर्न थाले । एक बर्ष त्यहाँ काम गरेपछि लगभग सात हजार रुपैयाँ आर्जन गर्न सफल हुनुभएछ । त्यसपछि उहाँलाई लाग्यो कि सधै गलैचा बुनेर हुदैन । अनि तीन पाङ्ग्रे बजाज टेम्पो सिक्न गए । लाइसेन्स लिए । तर गाडी चलाउन खोज्दा नयाँ ड्राइभरलाई सजिलै कसले पो गाडी दिन्थ्यो र ! त्यो बेला गाडीको संख्या पनि निकै कम थियो । संगसंगै गाडी धनी र गाडी लाइनमा खासै चिनजान पनि थिएन । गाडी चलाउन नपाएपछि अन्ततः त्यही गलैचा कारखानाका साहु बुद्धीलाल श्रेष्ठ र पुर्ण मिलेर टेम्पो किन्ने योजना बन्यो ।
तर साथमा पैसा थिएन । यो संकटको घडीमा लोकेन्द्र याक्खा भन्ने गाउँले दाइले साँच्चै ठूलो सहयोग गरे । याक्खा त्यस बखत काठमाडौको एउटा रेष्टुरेण्टमा काम गर्थे । उनको तलव मासिक ८ सय थियो । तर रेष्टुरेण्टका मालिकको विश्वास उनले जितेका रहेछन् । मासिक ८ सय तलब खाने याक्खाले साहुजीसंग ५ हजार रुपैयाँ सापटी मागे । साहुले एक बट्टा चुरोट किनिदिन्छस् भने मागेको रकम सापटी दिन्छु भने । अनि याक्खाले १ बट्टा चुरोट साहुजीलाई बुझाएर ५ हजार रुपैयाँ सापटी लिई पुर्णको हातमा थमाईदिए । यसैगरी काका मनकुमारको मिल्ने साथीको विश्वास जितेर अर्को २० हजार रुपैयाँ सापटी लिए । अब पुर्णको हातमा २५ हजार रुपैयाँ जम्मा भयो र बाँकी १ लाख ७५ हजार रुपैयाँ चाही गलैचा साहु बुद्धीलाल श्रेष्ठले लगानी गरेर २ लाख रुपैयाँमा उनीहरुले टेम्पो किने । त्यसपछि जोरपाटी–रत्नपार्क रुटमा टेप्पो चलाउन थाले पुर्ण । २०५० सालदेखि ०५१ सालसम्म एक बर्ष उनले त्यो टेम्पो चलाए । त्यसपश्चात टेम्पो छोडेर ट्याक्सी चलाउन थाले । काठमाडौ खाल्डोमा झण्डै तीन बर्ष ट्याक्सी चलाएपछि ड्राइभर भिषामै उहाँ २०५४ सालमा साउदी अरब उड्नुभयो । साउदीमा अहिलेको जस्तो धेरै नेपालीहरु थिएनन् । त्यो साउदी बसाई उहाँको जीवनमा एउटा यस्तो “टर्निङ पोइन्ट” बनेर आयो कि जसले उहाँको जीवनको यात्रा आजको नाम, दाम र सम्मानको लोभलाग्दो गन्तव्यतर्फ डोर्यायो ।

उहाँको स्वभाव नै यस्तो कि एक्लै बस्ने नसक्ने, साथीभाईहरुसंग घुलमिल भएर बस्नुपर्ने । साउदीमा पनि उहाँको साथीभाईहरुसंग राम्रै जमघट हुन्थ्यो । एउटा भारतीय ड्राइभरले त्यो “वाच” गरिरहेको रहेछ । एकदिन त्यही इण्डियन ड्राइभरले उसकै गाडीमा राखेर आधी घण्टाको ड्राइभमा रहेको खोबार भन्ने ठाउँमा पु¥यायो । एकजना फिलिपिनो नागरिक रेष्टुरेण्ट खोलेर बसेको रहेछ त्यहाँ । ती भारतीय ड्राइभरले त्यहाँ पुर्याएर पुर्ण लिम्बूलाई थाईल्याण्डमा खुल्ने “थाई लोटो”को एजेन्ट बनाएदिए । त्यो लोटो महिनामा २ पटक, १ र १५ तारिखमा खुल्थ्यो । जति जनाले लोटो काटे पनि उनलाई एजेन्टका रुपमा १० प्रतिशत आउँथ्यो । उनको मासिक तलब ६ सय रियाल थियो । एकदिन भाग्यले गजबै साथ दियो । उनले ५०५ नम्बरको ‘लोटो’ टिकट काटेका थिए । ठ्यक्कै १०० रियालको लोटो पर्यो । उल्टी, सुल्टी गरी यसबापत उनले ४४,००० साउदी रियाल जिते । २०५७ सालको कुरा हो यो । तत्कालीन एक्सचेन्ज रेट अनुसार त्यो झण्डै ७ लाख नेपाली रुपैयाँ भयो । अहिलेका सफल “रियल स्टेट” व्यवसायी पुर्ण लिम्बूको जीवनको गोरेटो नै बदल्ने यो घटना अर्थात लोटो जितेको आफूले नतिजा घोषणा हुनुअगावै सपना देखेको उहाँ बताउनुहुन्छ ।

करीव २८ महिनाको साउदी बसाई बिट मार्दै उहाँ नेपाल फर्किएर एउटा गाडी किन्नुभयो र संगसंगै पसल पनि चलाउन थाल्नुभयो । गाडीबाट फाइदै भयो तर पसल चलेन । झण्डै डेढ लाखको घाटा लाग्यो । जे काममा पनि शुन्यबाटै अनुभव छैन भने त्यसमा सफलता प्राप्त हुदैन भन्ने ज्ञान उहाँले पसलको असफलताबाट पाउनुभयो ।
समय बित्दै थियो । २०५९ सालतिर उपत्याकामा घडेरी जोडौ भन्ने उद्देष्यले उहाँले सुर्य विनायक, भक्तपुरमा १ रोपनी जग्गा ३ लाख ६० हजार रुपैयाँमा किन्नुभयो । तीन बर्ष नपुग्दै त्यो जग्गा २८ लाखमा बिक्री भयो । त्यसपछि त्यही रकम लगानी गरेर डेढ लाख रुपैयाँ आनाले किनेको जग्गा केही समयकै अन्तरालमा ४ लाख रुपैयाँ आनाले बिक्री भयो । त्यसयता उहाँ अनवरत रुपमा घरजग्गा व्यवसायमा हुनुहुन्छ । यसै सिलसिलामा २०७० सालमा आएर प्रविण कुस्मा, राजुराम कुस्मा, लक्ष्मी सुन्दर कुस्मा, डिल्लीध्वज बराइली र राकेश भेलेसंग उहाँको भेट भयो अनि बन्यो एउटा मजबुत र भरोसायोग्य “टिम” । आज प्राप्त यो लोभलाग्दो सफलतामा यही “टिम”को मुख्य हात रहेको लिम्बू सगर्व बताउनुहुन्छ । हालसम्म उहाँहरुले नेपाल सरकारको ऐन, नियमअनुरुप उपत्याका विकास प्राधिकरणबाट स्वीकृति लिएर सम्पुर्ण सरकारी मापदण्ड पुरा गरि तयार पारिएका ३ हजारभन्दा बढी घडेरीहरु बिक्री गर्न सफल भइसक्नुभएको छ । उहाँको नेतृत्वमा रहेको निक भूजिकिक हाउजिङ प्रा.लि.को कारोबार आज अरबौ रुपैयाँ माथि छ । कयौंलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिनुभएको छ । सुर्य विनायक नगरपालिकाले २ बर्षअघि सबैभन्दा बढी राजस्व बुझाएबापत उहाँहरुलाई विशेष सम्मान समेत गरेको थियो ।
पुर्वी नेपालको धनकुटाका पुर्ण लिम्बूको गलैचा बुन्न रामेछापबाट आएकी मगर युवतीसंग गलैचा कारखानामै २०५० सालमा भेट भयो । गलैचाका धागोहरुसंगै खोई कुनबेला एकअर्काको मुटु पनि साटासाट हुनपुग्यो ! २०५२ सालमा उनीसंगै पुर्णको अन्तरजातीय विवाह भयो । आज प्राप्त सम्पुर्ण सफलताको श्रेय श्रीमतिलाई दिनुहुन्छ उहाँ । “ती दिनहरुमा मलाई मेरी श्रीमतिले गलैचा बुनेर पनि पालिन् । मेरो काम नहुदा उनले जोगाएको पैसाबाट खर्च दिन्थिन् । संघर्षका दिनहरुमा रित्तो हात कोठा फर्किदा पनि कहिले गुनासो गरिनन् ।” पुर्ण भावुक बन्दै ती कठोर संघर्षका दिनहरु यसरी सम्झनुहुन्छ । त्यही अटुट विश्वास, प्रेम र भरोसाका कारण उहाँमा पनि जीवनमा केही न केही गरेरै छाड्छु भन्ने प्रेरणा प्राप्त भयो । आज ‘रियल स्टेट’ व्यावसायमा साम्राज्य नै खडा गर्न सफल हुनुभएका उहाँ भन्नुहुन्छ, ‘आज म जे, जहाँ छु । त्यसको सम्पुर्ण श्रेय मेरी श्रीमतिलाई जान्छ ।’
कुनै पनि काममा सफलता हासिल गर्न त्यो कामबारे शुन्यबाटै जानकारी र सुरुवात गर्नुपर्छ भन्ने उहाँको दृढ विश्वास छ । घरजग्गा व्यवसायमा लागेपछि उहाँ आफैले जग्गा नाप्ने काम सिक्नुभयो, यसैवीच डिजाइनका लागि कम्प्युटर प्रोग्रामिङ ‘अटोक्याड’ आयो । उनी परे मात्र ५ क्लास पढेका । अटोक्याड चलाउन अंग्रेजीको राम्रै ज्ञान आवश्यक पर्छ । तर उनले हार मानेनन् र अटोक्याड सिकेरै छाडे । अटोक्याड मात्र सिकेनन्, उनि आफैले पढेलेखेका भनिएका, दक्ष प्राविधिक र इन्जिनियरहरु नै आश्चर्यमा पर्ने गरि १० रोपनीको प्लानीङ् समेत गरे । अटोक्याटमा सिद्धहस्त ढंगले डिजाइन बनाउँदै गरेको देख्नेहरुले कुन कलेज पढ्नु भएको भनेर सोध्छन् उहाँलाई । अनि आफ्नो वास्तविक शैक्षिक योग्यता खुलस्त बताउदा धेरैले विश्वास नै गर्दैनन् ।
जीवनमा दुःखको पहाडदेखि सफलताको शिखरसम्म चुमेका पुर्ण लिम्बूमा यति लोभलाग्दो सफलता र सम्पत्ती आर्जन गरे पनि घमण्डको छायाँ समेत भेटिदैन । लाग्छ, आकाश छुने सफलता हात पारे पनि उहाँले आफ्नो धरातल पटक्कै भूल्नुभएको छैन । सादा जीवनले उहाँको व्यक्तित्व झनै उजेलिएको छ । कहिले आफन्त, साथीभाइहरुसंग ब्याडमिन्टनमा भिडिरहेका देखिन्छन् त कहिले गीतहरुमा नाच्दै, अभिनय गर्दै भिडियोहरु सामाजिक सन्जालमा ‘अपलोड’ गरिरहेका हुन्छन् उनी ।
मनकारी, विशाल हृदयका धनी पुर्ण लिम्बूले आफूले कमाएको धनराशीबाट दिनदुःखीको सेवा र अन्य सामाजिक कार्यमा पनि खुलेरै सहयोग गर्नभएको छ । आफ्ना व्यापारिक साझेदारहरुको पुरा “टिम” नै आर्जन गरेको हिस्साबाट सामाजिक कार्य गर्नुपर्छ भन्नेमा एकमत रहेकाले झन् सहज भएको उहाँ बताउनुहुन्छ । सुर्यविनायकमा खानेपानी ट्यांकी निर्माणका लागि करोडौ पर्ने जग्गादानदेखि मठमन्दिर बनाउनसम्म उहाँको टिमले सहयोग प्रदान गरेको छ । १३ बर्षकै उमेरमा यस धर्तीमा जन्म दिने आमा र लगत्तै दुर्घटनाका कारण पितालाई गुमाउनुभएका पुर्णले गाउँघरको पीडा राम्ररी बुझ्नुभएको थियो । गाउँलेहरुको उपचारका लागि सहज होस् भन्ने भावनाले उहाँले निजी खर्चमा आफ्नो गाउँमा एउटा एम्बुलेन्स उपलव्ध गराउनुभएको छ । तर व्यक्तिबाट स्थानीय निकायलाई एम्बुलेन्स हस्तान्तरण गर्न कानूनी झन्झट रहेकोले सो प्रावधान मिलाउन नाताले भान्जा पर्ने संविधान सभा सदस्य हेमराज भण्डारीले खेल्नुभएको भूमिकालाई पनि उहाँले विर्सनुभएको छैन । आफूले प्रदान गरेको एम्बुलेन्सका कारण सुत्केरीदेखि अन्य गम्भीर बिरामीहरुको उपचारमा सहज भएको खबरहरु गाउँबाट आउँदा उहाँलाई मिल्ने आत्मसन्तुष्टि र खुशी सायद शब्दमा वर्णन गर्न सकिन्न ।
अभाव, दबाब र तनाव झेल्दै जीवनमा केही गर्न संघर्षरत प्रत्येकका लागि पुर्णबहादुर लिम्बूको जीवनले बलियो प्रेरणा दिन्छ । पारिवारिक वियोग, दुःख र कठोर संघर्षको मैदानबाट उठ्नुभएका उहाँ आफै चाहि को बाट प्रभावित हुनुहुन्छ भन्ने हाम्रो जिज्ञासामा भन्नुहुन्छ, “कुरुले तेनुपाका छिमेकी दाई लोकेन्द्र याक्खा जसले काठमाडौंको प्रारम्भिक संघर्षमा अतुलनीय सहयोग गर्नुभएको थियो । उहाँ, साउदीमा रहदा भेटिएका धरानका अक्कल दुमी राई र आफ्नै व्यावसायिक साझेदार प्रविण कुस्माबाट एकदमै प्रभावित छु ।”
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]




